×

सई हत्या प्रकरणमा २२ महिनापछि मुख्य अभियुक्त पक्राउ

सई हत्या प्रकरणमा २२ महिनापछि मुख्य अभियुक्त पक्राउ

सशस्त्र प्रहरी सई हत्या प्रकरणमा २२ महिनापछि मुख्य अभियुक्त पक्राउ

सिरहा, असोज ५ — ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु भएको घटनामा प्रहरीले करिब २२ महिनापछि मुख्य अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित मधुबनी जिल्ला क्षेत्रका ३७ वर्षीय मोहम्मद कुर्बान मन्सुरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार घटनामा प्रयोग भएको टाटा सफारी गाडीका धनी तथा चालकसमेत मन्सुरी नै हुन्।

प्रहरीका अनुसार बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोक्ने क्रममा प्रहरीले एउटा गाडीलाई रोक्न खोजेको थियो। सो क्रममा गाडीले ड्युटीमा रहेका सई यादवलाई ठक्कर दिएको र गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि फरार रहेका अभियुक्तको खोजी जारी राखिएको थियो। २२ महिनापछि सीमा क्षेत्रबाट पक्राउ गर्ने क्रममा अभियुक्त पक्षबाट प्रहरीतर्फ एक राउन्ड गोली चलाइएको प्रहरीको भनाइ छ। त्यसपछि प्रहरीले जवाफी कारबाही गर्दा मन्सुरी घाइते भएका थिए।

प्रहरीले मन्सुरीसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ। घाइते मन्सुरीको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

जनसमाचार नेपाल
घटना, अपराध र सुरक्षासम्बन्धी ताजा समाचारका लागि जनसमाचार नेपालसँग जोडिनुहोस्।

Post Comment