×

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना, चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना, चालक र सहचालक घाइते

हेटौँडा, असोज ५ — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ नयाँबस्तीस्थित सयफुटमा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार बिहान करिब ४ः३० बजे वीरगञ्जबाट स्याउ लोड गरी काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९०६८ नम्बरको टेलर अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खोलाको बगरमा पल्टिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार चालक निदाएका कारण टेलर अनियन्त्रित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा चालक वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरका २५ वर्षीय नरेश महतो र सहचालक सोही स्थानका २८ वर्षीय रमेश कुशवाह घाइते भएका छन्। प्रहरीका अनुसार उनीहरूको खुट्टा र ढाडमा चोट लागेको छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी रातोमाटेबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। घाइते दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त टेलर घटनास्थलमै रहेको भए पनि दुर्घटनाका कारण राजमार्गमा यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

— जनसमाचार नेपाल

Post Comment