काठमाडौं उपत्यकाबाट १४ थान हाते ट्याक्टर चोरी, पाँच जना पक्राउ
काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हाते ट्याक्टर (पावर टिलर) चोरी तथा खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विभिन्न समयमा स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टर चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई भक्तपुरको मध्यपुर थिमि–९ क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूबाट काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट चोरी भएका १४ थान हाते ट्याक्टर बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट एउटा मोटरसाइकलसमेत फेला परेको छ।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–५ छालिङका राजु मचामसी, राजेश मचामसी र राजन मचामसी, रौतहटको परोहा नगरपालिका–५ घर भई भक्तपुरको बोडेमा कवाड व्यवसाय सञ्चालन गर्ने राजेश्वर जैसवाल तथा काभ्रेको पाँचखाल नगरपालिका–४ का विपिन कुमार शाही रहेका छन्।
प्रहरीले उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गर्न अनुमति दिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



Post Comment