×

अविरल वर्षापछि देशभर बाढी–पहिरोको जोखिम, ११ सडकखण्ड प्रभावित

नेपालमा अविरल वर्षापछि आएको बाढी र पहिरो

अविरल वर्षापछि देशभर बाढी–पहिरोको जोखिम, ११ सडकखण्ड प्रभावित

काठमाडौं — अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ। वर्षाका कारण प्रमुख राजमार्ग तथा सडकखण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने नदी तथा खोलामा पानीको बहाव बढेको छ।

नेपाल प्रहरीका अनुसार असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म ६ जनाको मृत्यु र २ जना घाइते भएका छन्। बागमती प्रदेशमा २, लुम्बिनी प्रदेशमा २, गण्डकी प्रदेशमा १ र कर्णाली प्रदेशमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपद् प्रभावित क्षेत्रबाट ४०७ जनाको उद्धार गरिएको छ।

विभिन्न राजमार्गमा पहिरो

निरन्तर वर्षाका कारण पृथ्वी, बीपी, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी, तमोर, राप्ती र कर्णाली राजमार्गलगायतका सडकखण्ड प्रभावित भएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जुवाङ खोला र फिस्लिङ क्षेत्रमा पहिरोका कारण यातायात बन्द भएको छ। बीपी राजमार्गका विभिन्न स्थानमा पनि पहिरो तथा डाइभर्सन बग्दा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको जैमिनी–४ बेलबगरमा ठूलो पहिरो गएको छ। बागलुङ–बेनी सडकको म्याग्दी खण्ड, तमोर करिडोर, राप्ती राजमार्ग तथा कर्णाली राजमार्गका विभिन्न स्थानमा समेत पहिरो र बाढीका कारण आवागमन प्रभावित भएको छ।

नारायणी नदीमा पानीको बहाव बढ्यो

पूर्वी नवलपरासी हुँदै बग्ने नारायणी नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार शनिबार दिउँसो पानीको सतह ८.९८ मिटर पुगेको थियो। नौ मिटर पुगेपछि उक्त स्थानमा खतराको तह मानिन्छ।

पानीको बहाव बढेपछि नवलपुरका नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको र सुस्ता क्षेत्रमा डुबानको प्रभाव देखिएको विवरण सार्वजनिक भएको छ।

गुल्मीमा ११ परिवार विस्थापित

अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन्। जोखिममा रहेका तथा घरमा क्षति पुगेका परिवारलाई प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गोठ भत्किँदा तीन पशुचौपायासमेत मरेका छन्।

वर्षा र विपद्को जोखिम कायमै रहेकाले सम्बन्धित निकायले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र र प्रभावित सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

Post Comment