“आजको मौसम : यी चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना”
आज देशभर मौसम बदली, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं, ५ असोज । नेपालमा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ भने विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
तराईका क्षेत्रमा पनि पूर्ण रूपमा मौसम सफा नरहने देखिएको छ। मधेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
राति पनि वर्षाको सम्भावना
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा पनि रातिको समयमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
न्यून चापीय प्रणाली पनि विकास हुँदै
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ। यसले आगामी दिनको मौसममा समेत प्रभाव पार्न सक्ने देखिएको छ।
भारी वर्षा हुन सक्ने पहाडी क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम रहन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।



Post Comment