पोखराको लेकसाइडमा नवजात शिशुको शव फेला, १९ वर्षीया महिला पक्राउ
पोखरा, कार्तिक १२ — जनसमाचार नेपाल
कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइडमा नवजात शिशुको शव फेला परेको घटनामा प्रहरीले १९ वर्षीया महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार लेकसाइडस्थित स्ट्रिट नम्बर ८ भित्रको गल्लीमा रहेको एक टहराको शौचालयको बाहिरी च्याम्बरमा गत कार्तिक ३ गते साँझ सालनालसहित पुरुष नवजात शिशुको शव फेला परेको थियो।
शौचालय जाम भएर पानी बाहिर ननिस्किएपछि घरधनीले च्याम्बर खोलेर हेर्दा शिशुको शव देखेका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो।
घटनाको अनुसन्धानका क्रममा पोखरा–६, लेकसाइडमा भाडामा बस्दै आएकी १९ वर्षीया निरुता नेपालीमाथि प्रहरीले अनुसन्धान केन्द्रित गरेको थियो। प्रहरीले उनलाई कार्तिक ४ गते राति पोखरा महानगरपालिका–२१, लुकुन्स्वाराबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकी महिलाको चिकित्सकीय स्वास्थ्य परीक्षण गराइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
शिशुको मृत्युको वास्तविक कारण के हो र घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
जनसमाचार नेपाल
विश्वसनीय समाचारका लागि हाम्रो वेबसाइटमा जोडिनुहोस्।



Post Comment