मोरङमा लागूऔषध कारोबारीविरुद्ध प्रहरीको ८ राउण्ड गोली, दुई घाइतेसहित तीन जना पक्राउ
जनसमाचार नेपाल | २०८३ कात्तिक १३ गते, शुक्रबार
मोरङमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८ राउण्ड गोली चलाएको छ। प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका–६, शनिश्चरे क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि प्रतिकार भएपछि गोली चलाउनुपरेको बताइएको छ।
घटनामा दुई जना भारतीय नागरिक घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक नेपालीसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनास्थलबाट करिब ५०० ग्राम खैरो हेरोइन र एक थान पेस्तोलसमेत बरामद गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध कारोबार तथा अन्य सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागूऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाइरहेको छ।



Post Comment