×

पूर्वआईजीपी दानबहादुर कार्कीको रिटबारे आज निर्णय हुँदै, पुनर्बहालीको माग

पूर्वनेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको तस्बिर।

पूर्वआईजीपी दानबहादुर कार्कीको रिटबारे आज निर्णय हुँदै, पुनर्बहालीको माग

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनबारे आज निर्णय हुने भएको छ।

सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि उनले उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट पेस गरेका हुन्।

कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले बिहीबार रिट निवेदन सर्वोच्च अदालतमा पेस गरेका थिए। तर, निवेदनको अध्ययन गर्नुपर्ने भन्दै अदालत प्रशासनले तत्काल दर्ता गरेको थिएन। सर्वोच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले शुक्रबार रिट दर्ता गर्ने वा नगर्ने विषयमा निर्णय हुने जानकारी दिएका थिए।

कार्कीले आफूलाई पदबाट हटाउनुअघि स्पष्टीकरणको अवसरसमेत नदिइएको भन्दै सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्। उनले मन्त्रिपरिषद्को निर्णय बदर गरी आफूलाई पुनः आईजीपीको जिम्मेवारीमा फर्काउन माग गरेका छन्।

रिटमा नवनियुक्त आईजीपी मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकको हैसियतमा कामकारबाही गर्न रोक लगाउन अन्तरिम आदेश जारी गर्नसमेत माग गरिएको छ।

सरकारले कार्कीलाई आईजीपीबाट हटाएपछि एआईजी मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

तिहारपछि मात्रै सुनुवाइ हुने सम्भावना

सर्वोच्च अदालतले आज रिट दर्ता गर्ने निर्णय गरे पनि तिहार बिदाका कारण प्रारम्भिक सुनुवाइ भने बिदापछि मात्रै हुने सम्भावना छ। रिट दर्ता हुनु र त्यसमा अदालतले अन्तिम फैसला गर्नु फरक प्रक्रिया हुन्।

अब सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्ने निर्णय गर्छ वा गर्दैन भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

जनसमाचार नेपाल।

Post Comment