आजको मौसम : देशका अधिकांश भूभागमा बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं — नेपालमा आज (शुक्रबार) मौसममा बदली रहने र विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने देखिएको छ।
विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम विभागका अनुसार आज पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली र अन्य क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। वर्षासँगै मेघगर्जन र चट्याङको जोखिम रहेकाले बाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
पोखरामा २६ देखि २८ डिग्रीसम्म तापक्रम
नेपाल मौसम विज्ञान विभागका अनुसार आज पोखरामा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने अनुमान छ। पोखरामा वर्षाको सम्भावना ८० प्रतिशत रहेको विभागको विवरणमा उल्लेख छ।
यसैगरी वीराटनगर, नेपालगञ्ज, घोराही, भैरहवा तथा अन्य विभिन्न क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।
यात्रामा सावधानी अपनाउन आग्रह
आगामी केही दिन भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभिन्न निकायले सडक तथा यात्रासम्बन्धी सावधानी अपनाउन आग्रह गरेका छन्। भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने जोखिम रहन्छ।
मनाङमा समेत भारी वर्षा र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा हुने पदयात्रामा तीन दिनका लागि रोक लगाइएको छ।
मौसमसम्बन्धी जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई मौसम पूर्वानुमान तथा सरकारी सूचनामा ध्यान दिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।
— जनसमाचार नेपाल
Post Comment